कारागारको भौतिक संरचना थप्न आवश्यक -गृहमन्त्री लेखक

सुनौलो अनलाइन
१७ साउन २०८१, बुधबार

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताएका हुन् । “बन्दी र कैदीका रुपमा कारागारमा रहेकाहरुको मानव अधिकारको पूर्ण रुपमा संरक्षण गरिनेछ”, मन्त्री लेखकले भने, “त्यहाँको स्थिति सुधार गर्ने तथा सुविधा बढाउने प्रयत्न गरिरहेका छौँ ।”

शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी सांसदहरुले उठाएको विषयमा बोल्दै उहाँले भौतिक संरचना निर्माणलगायत समग्र विषयमा आर्थिक स्रोत जोडिएको बताए । “सीमित स्रोतसाधन र सीमित आर्थिक व्यवस्थामा अली बढी काम गर्नुपरिरहेको छ”, मन्त्री लेखकले भन्नुभयो, “कारागार र बाल सुधारगृहको भौतिक अवस्था अपर्याप्त, जीर्ण र दयनीय छ ।” मन्त्री लेखकले बाल सुधारगृहमा बसेका बालबालिकाको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी देशमा शान्ति सुरक्षा, अमनचयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानुन संशोधन परिर्माजन र नयाँ निर्माणमा आफू लागि परेको उनको भनाई छ ।