नन्दप्रसाद जानुका स्मृति सम्मान शिक्षासेवी मिलनराज तुलाधरलाई

सुनौलो अनलाइन
१० असार २०८२, मंगलबार

काठमाडौँ । यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मानबाट शिक्षासेवी मिलनराज तुलाधर सम्मानित हुने भएका छन् । प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षासेवी तुलाधरलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिए । पुरस्कार तथा सम्मान छनोट समितिले गरेको सिफारिसको आधारमा फाउण्डेशन संचालक समितिको बैठकले रुसका लागि पूर्व राजदूत, क्षमावती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक, २०२९ सालदेखि दोलखाको शिक्षा क्षेत्रको उन्नयनमा निरन्तर क्रियाशील तुलाधरलाई २५ हजार रुपैयाँ नगद राशी र सम्मानपत्रसहित नन्दप्रसाद जानुका स्मृति सम्मानबाट सम्मानित गर्न लागिएको हो ।
२०८२ साल भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौंमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष शिवाकोटीले बताए ।

साविकको क्षेत्र नम्बर ११ अर्थात् हालको दोलखा जिल्लाको शैक्षिक क्षेत्रका अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी तथा उनकी पत्नी जानुका शिवाकोटीको नाममा नन्द प्रसाद जानुका फाउण्डेशन स्थापना भइ विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको छ ।
फाउण्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरुलाई सम्मानित एवं पुरस्कृतसमेत गर्दै आएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसैको निरन्तरता स्वरुप फाउण्डेशनले नन्दप्रसाद स्मृति दिवसको अवसरमा यस बर्षको नन्दप्रसाद जानुका स्मृति सम्मानबाट शिक्षासेवी मिलनराज तुलाधरलाई सम्मान गर्ने घोषणा गर्दछौँ ।’


धेरै पढिएको