चाडपर्व आएसँगै तरकारी महँगो

सुनौलो अनलाइन
३२ साउन २०८२, शनिबार

काठमाडौँ, साउन ३१ गते । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो एक महिनामा हरियो तरकारीको भाउ ४३७ प्रतिशतसम्म बढेको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ भने खुद्रा त झन् छोइसक्नु छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत असार ३० गते प्रतिकेजी १६ रुपियाँमा किनबेच भएको तनेबोडी साउन ३० गते आइपुग्दा ४३७ प्रतिशत बढेर ९५ रुपियाँ थोकमा पुगेको छ । यस्तै प्रतिकिलो २५ रुपियाँ थोकमा किनबेच भएको लौका दुई सय प्रतिशतसम्म बढेर ७५ रुपियाँ पुगेको छ । प्रतिकेजी २५ रुपियाँमा किनबेच भएको सेतो मुला ८० प्रतिशत बढेर ४५ रुपियाँ पुगेको छ ।

समितिका अनुसार सो अवधिमा प्रतिकेजी ५० रुपियाँ थोकमा कारोबार भएको घिउसिमी ८६ रुपियाँ, प्रतिकेजी २६ रुपियाँ थोकमा किनबेच भएको तितेकरेला बढेर ७४ रुपियाँ र प्रतिकेजी २२ रुपियाँ थोकमा किनबेच भएको हरियो फर्सी अहिले बढेर ५५ रुपियाँ पुगेको छ । सो अवधिमा घिरौँला प्रतिकेजी ३९ रुपियाँबाट ४५ रुपियाँ, भिन्डी ३६ रुपियाँबाट ६५ रुपियाँ थोकमा किनबेच भएको छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।

कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले उपत्यकाका बजारमा धेरै तरकारी आउने चितवन मकवानपुरसहित तराईका जिल्लामा धान रोपाइँपछि तरकारी आउन छोडेकाले तरकारीको भाउ बढेको जानकारी दिनुभयो । ती ठाउँमा तत्काल आउने तरकारी नभएकाले असोज कात्तिकसम्म नै यही अवस्था रहने पनि उहाँको भनाइ छ ।

तरकारीको मूल्य बढ्नुमा नियमनको पनि समस्या रहेको छ । व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गर्ने गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।