श्रमदान, श्रम संस्कृति र यसको औचित्य

सुनौलो अनलाइन
९ साउन २०८३, शनिबार

– बैकुण्ठ दाहाल
उपाध्यक्ष, श्रम संस्कृति पार्टी, धादिङ

नेपाल प्राकृतिक स्रोत, साधन र अपार सम्भावनाले भरिपूर्ण देश हो। यहाँको माटो उर्वर छ, जलस्रोतको प्रचुर सम्भावना छ भने पर्यटनका लागि हिमाल, पहाडदेखि तराईसम्म अनुपम विविधता विद्यमान छ। हाम्रो सबैभन्दा ठूलो सम्पत्ति भनेकै नेपाली युवाहरूको श्रम, सीप, क्षमता र सिर्जनशीलता हो।

तर विडम्बना, यही देशका लाखौँ युवा रोजगारी र अवसरको खोजीमा खाडी र मरुभूमिका देशहरूमा पसिना बगाउन बाध्य छन्। आफ्नै मातृभूमिमा श्रम गरेर उत्पादन बढाउने, आत्मनिर्भर बन्ने र सम्मानपूर्वक जीवन बिताउने वातावरण नहुँदा केवल परिवारको जीविकोपार्जनका लागि युवाहरूले परदेशको बाटो रोज्नुपरेको छ। यही बाध्यता र निराशाको अन्त्य गर्दै स्वदेशमै श्रम, उत्पादन र समृद्धिको नयाँ यात्रा थाल्न ‘श्रम संस्कृति’ र ‘श्रमदान’ को अभियान अघि बढाउनु आजको परम आवश्यकता हो।

श्रमदानको वास्तविक अर्थ र भावना
​श्रमदान केवल कुनै बाटो खन्ने, सरसफाइ गर्ने वा सामान्य भौतिक संरचना निर्माण गर्ने काम मात्र होइन। श्रमदान भनेको राष्ट्र निर्माणप्रतिको नागरिक जिम्मेवारी, सहभागिता र अपनत्वको गहिरो भावना हो।

आफ्नो गाउँ, समाज र देशको विकासमा आफैँले केही योगदान गर्नुपर्छ भन्ने उच्च चेतना र सामूहिक सङ्कल्पको नाम नै श्रमदान हो। जब नागरिक आफैँ आफ्नो विकासको साझेदार बन्छ, तब मात्र विकास दिगो र प्रभावकारी हुन्छ।

श्रम संस्कृति पार्टीको वैचारिक आधार
​श्रम संस्कृति पार्टीले यही श्रम, उत्पादन, आत्मनिर्भरता र राष्ट्र निर्माणको भावनालाई देशको राजनीतिको केन्द्रमा राख्ने सङ्कल्प गरेको छ। राजनीति केवल सत्ता प्राप्त गर्ने वा शक्ति अभ्यास गर्ने माध्यम मात्र होइन, यो त जनताको जीवनस्तर बदल्ने र समाज रूपान्तरण गर्ने पवित्र साधन बन्नुपर्छ भन्ने मान्यता यस अभियानको जग हो।

भाषण र नाराले मात्र देशको विकास सम्भव हुँदैन। त्यसका लागि इमानदार नेतृत्व, स्पष्ट नीति, उत्पादनमुखी सोच र नागरिकको प्रत्यक्ष सहभागिता अपरिहार्य हुन्छ।

समृद्ध र स्वाभिमानी नेपालको सपना
​हाम्रो सपना यस्तो समृद्ध र स्वाभिमानी नेपाल निर्माण गर्नु हो, जहाँ कुनै पनि युवाले परिवारको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता धान्नकै लागि मुग्लान पस्नु नपरोस्।

हरेक युवाले आफ्नै देशमा सीप अनुसारको रोजगारी पाउने, किसानले आफ्नो पसिनाको उचित मूल्य पाउने, श्रमिकले सम्मान पाउने, उद्यमीले निर्धक्क लगानी गर्ने र विद्यार्थीले आफ्नै देशमा उज्ज्वल भविष्य देख्ने वातावरण हामी निर्माण गर्न चाहन्छौँ।

आफ्नै युवाको सीप, पसिना र परिश्रमले हाम्रो देश समृद्ध बनोस्। हजुरबादेखि नातिसम्म एउटै छानामुनि बसेर, एउटै ताउलोमा पाकेको भात सँगै खाँदै, राष्ट्रिय झण्डा गर्वका साथ फहराएर आफ्नै देशमा शिर ठाडो पारी बाँच्न पाउने वातावरण नै हाम्रो साझा सपना हो।

हर्कवाद’: आत्मनिर्भरता र श्रमको नयाँ मार्गचित्र
​श्रम संस्कृति पार्टीका संस्थापक, ‘श्रम पिता’ हर्कराज राईले अघि सार्नुभएको श्रम, श्रमदान, उत्पादन र आत्मनिर्भरताको विचारलाई हामीले व्यवहारमा उतार्न आवश्यक छ।

यही विचार र अभियानलाई व्यावहारिक रूपमा ‘हर्कवाद’ का रूपमा बुझ्न सकिन्छ। हर्कवाद कुनै व्यक्तिको मात्र सपना वा महत्त्वाकाङ्क्षा होइन; यो त श्रमलाई ईश्वर मान्ने, उत्पादनलाई प्राथमिकता दिने र देश निर्माणमा आम नागरिकलाई सिधै सहभागी गराउने एउटा आत्मनिर्भर वैचारिक मार्गचित्र हो।

गफ होइन, काम र उत्पादनको बाटो
​अब देश रूपान्तरणको जिम्मेवारी कुनै एक नेता वा राजनीतिक दलको मात्र विषय रहेन, यो आम नागरिकको काँधमा आएको छ। हामी सबैले आफ्नो ठाउँबाट श्रम गरौँ, उत्पादन बढाऔँ, श्रमदान गरौँ र राष्ट्र निर्माणमा हातेमालो गरौँ।

जब नागरिकमा श्रमप्रतिको सम्मान र देशप्रतिको जिम्मेवारीबोध जाग्छ, तब मात्र समृद्ध नेपालको जग बलियो हुन्छ। त्यसैले अब हामीले गफभन्दा काम, भाषणभन्दा उत्पादन र परनिर्भरताभन्दा आत्मनिर्भरतालाई प्राथमिकता दिनुपर्छ। श्रम गरौँ, श्रमदान गरौँ, उत्पादन बढाऔँ र आफ्नै पसिनाले आफ्नै देश बनाऔँ।


धेरै पढिएको