कांग्रेसभित्रको ‘भाइरस’ १५ औं महाधिवेशनमा ठेगान लगाउनुपर्छ: कुन्दनराज काफ्ले

सुनौलो अनलाइन
३१ साउन २०८३, आइतबार

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले पार्टीभित्र एकले अर्कोलाई होच्याउने र कमजोर पार्ने प्रवृत्ति नै कांग्रेसको सबैभन्दा ठूलो ‘भाइरस’ भएको बताएका छन्।

काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता काफ्लेले विगतमा मेचीका कांग्रेसलाई समस्या पर्दा महाकालीमा आन्दोलन हुने एकता रहेको सम्झिँदै आजभोलि भने आफ्नै साथी अप्ठ्यारोमा पर्दा खुच्चिङ मनाउने संस्कृति हुर्किएको भन्दै चिन्ता व्यक्त गरे।

पार्टीभित्रै एउटा पक्षलाई होचो र कमजोर देखाएर आफू अग्लो र बलियो बन्ने होडबाजी चलिरहेको टिप्पणी गर्दै उनले भने, “कांग्रेसले कांग्रेसलाई नै हान्नुपर्ने, मार्नुपर्ने र नकार्नुपर्ने संस्कृतिको विकास नेतृत्व तहबाटै भइरहेको छ।

यो घातक भाइरसलाई आउँदो १५ औं महाधिवेशनबाट पूर्ण रूपमा ठेगान लगाउनुपर्छ।”
​काफ्लेले पार्टीका जिम्मेवार नेताहरू चुनावी अभियानमा भोट माग्न नजाने र पछि हार भएपछि अरूलाई दोष थुपारेर उम्कने गरेको आरोप पनि लगाए।

समयमै यस्तो आन्तरिक गुटबन्दी र घात-प्रतिघातको अध्ययन तथा उपचार नगरिए यसले कसैलाई पनि सुरक्षित नराख्ने चेतावनी दिँदै उनले पार्टीलाई रूपान्तरण र सुदृढ बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।