सत्ता प्राप्तिको मनोदशाले विभाजनको भुङ्ग्रोमा साना दल

जीवन शर्मा
२९ जेठ २०८१, सोमबार

काठमाडों । नेताहरुमा देखिएको सत्ता प्राप्तिको मनोदशाले साना राजनीतिक दलहरु विभाजनको भुङ्ग्रोमा परेका छन् । ठूला राजनीतिक दलहरुले सरकारमा बहुमत पुर्याउन र सरकार टिकाउन देखाएका सत्ताका अनेकन प्रलोभनप्रतिको आकर्षणले साना दलहरु विभाजनको शिकार बन्न पुगेका हुन् ।

ओलीसहितको प्रचण्ड गठबन्धनले नाउपा र नेकपा एकीकृत समाजवादीलाई फुटाएर एउटा समुह आफ्नो पक्षमा राख्ने र सरकारमा बहुमत पुर्याइराख्ने खेलमा लागेका छन् ।

सत्ता प्राप्ति मुल राजनीतिक उद्देश्य बनाएर लागेका तराई केन्द्रीत दलका नेताहरुबीच आपसी मत भिन्नता हुँदै अन्ततः पार्टीनै फुटको स्थितिमा पुग्ने गरेका छन् । केही समय अघि सत्तासहयात्री दल जनता समाजवादी पार्टी नेपालका नेता अशोक राईले पार्टी फुटाए । स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएर सरकारमा गएका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणको मौकामा राईले सात संसदलाई लिएर निर्वाचन आयोगमा पार्टी दर्ताका लागी निवेदन दिदै आफ्नो नेतृत्वमा जसपा पुर्नगठन भएको घोषणा गरेका थिए । यादव पटक पटक सत्तानमा आफै जाने र अरुलाई अवसर नदिदाको पसिरणाम यस्तो आएको नेताहरले बताएका छन् ।

यो बीचमा तराई केन्द्रीत राजनीतिमा राम्रो पकड बनाइसकेका दलहरु नै सबैभन्दा बढी विभाजित भएका छन् । पछिल्लो केही वर्ष यता उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल तीन पटक फुटिसकेको छ । तराई केन्द्रीत राजनीति गर्दै आएका करिव ६ दलबीच एकता गरेर मधेश प्रदेशको सबैभन्दा शक्तिशालि बनेको सो दल अहिले खिईँदै गएको छ । २०६४ को संविधानसभा निर्वाचनमा ५४ सिट ल्याएको उपेन्द्र नेतृत्वको दल आज अहिले ५ सिटमा झरेको छ । गत निर्वाचनमा १२ सिट भएपनि वर्तमान गठबनधनको सरकारमा जाने विषयको विवादले फुटको अवस्थामा पुग्दा उपेन्द्र नेतृत्वमा ५ सांसद मात्रै बाँकी छन् ।

नेकपा एमाले–माओवादी केन्द्रबीच गत फागुन २१ मा बनेको नयाँ सत्ता समीकरणमा रहेको जसपाल र माधव नेपाल नेतृत्वको नेकपा एसले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग मिलेर नयाँ सरकारको अभ्यास समेत थालेपछि सत्ताका मुख्य खेलाडी केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डकै सक्रियतामा जसपा फुटको शिकार बन्न पुगेको नेताहरुले बताएका छन । जसपा लगात्तै रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी फुटको डिलमा छ । उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका श्रीमान पार्टीका संस्थापक रेशम चैधरीबीच सरकारमा जाने र नजाने विवाद हुँदा उक्त दल फुटको शिकाल बन्नै लागेको नाउपाका नेताहरु बताउँछन् । उक्त दलका एक नेताले भने–‘हामी पार्टी फुटबाट रोक्ने प्रयासमा छौं । तर, अध्यक्ष रञ्जिता प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा नगइ नछाड्ने र संस्थापक नेता एवं संरक्षक रेशम चौधरी अहिलेनै सरकारमा जान नहुने पक्षमा उभिएपछि पार्टी विभाजनको डिलमा पुगेको छ ।’

अघिल्लो पटक पनि मन्त्री भइसकेकी रञ्जिता प्रधानमन्त्री प्रचण्डको अफरमा फेरि मन्त्री बन्ने लाइनमा छिन् । एमाले, माओवादीसहित दलको सत्ता गठबन्धन बनेपछि नाउपाभित्र किचलो सुरु भएको थियो । पार्टी अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइन र पार्टी संरक्षक रेशम चौधरी प्रतिपक्षी दल कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने पक्षमा उभिदा यो अवस्था आएको सो दलका नेताहरुले बताए । सुदूरपश्चिम प्रदेश सरकारबाट समस्या थप बल्झिएको छ । अहिले रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सुदूरपश्चिम सरकारका विभागीय मन्त्री छन् भने बाँकी ५ जना सांसद प्रदेश सभाको प्रतिपक्षको बेञ्चमा बस्दै आएका छन् । पूर्वमन्त्री समेत रहेका रेशम पक्षका नेता लक्ष्मणकिशोर चौधरीले पार्टी र संसदीय दल फरक कुरा भएको भन्दै अभिभावक (रेशम)ले भने अनुसार पार्टी चल्नुपर्ने जिकीर गरे । उनले भने– ‘स्वाभाविक रूपमै विद्यालयमा प्रिन्सिपलको नेतृत्व रहन्छ भने घरमा अभिभावकको रहन्छ त्यस्तै पार्टीमा पनि पार्टीको जन्म दिने अभिभावककै नेतृत्वमा छलफल गरेर अघि बढ्नु पर्छ ।’

तर रञ्जिता पक्षका नेता दामोदर पण्डितले भने– ‘संसारमा नभएको नौटङ्की हाम्रै पार्टीभित्र र सुदूरपश्चिममा छ । एउटै दलका सांसद कोही सत्ता पक्षमा, कोही प्रतिपक्षमा छन् । यस्तो कहीँ हुन्छ दलगत रूपमा ?’ गत पुसमा सम्पन्न नाउपाको महाधिवेशनले सर्वसम्मत रूपमा रेशमलाल चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । तर निर्वाचन आयोगले रेशमलाललाई अध्यक्षमा स्वीकार नगरेपछि नाउपा पुरानै अवस्थामा फर्केको थियो । जसपा र नाउपासँगै नेकपा एकीकृत समाजवादी पार्टीमा समेत आन्तरिक असमझदारी चुलिदो छ । माधव र झलनाथ खनालबीच शुरु भएको दुई लाईन संघर्ष पार्टी महाधिवेशनसम्म कहा पुग्छ भन्ने निश्चित नभएको नेताहरुले आशंका व्यक्त गरेका छन् । स्वय पार्टी अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरे ।

‘कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’, उनले भने– ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई हैसियतमा पु¥याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पु¥याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ ।’ ओलीसहितको प्रचण्ड गठबन्धनले नाउपा र नेकपा एकीकृत समाजवादीलाई फुटाएर एउटा समुह आफ्नो पक्षमा राख्ने र सरकारमा बहुमत पुर्याइराख्ने खेलमा लागेका छन् । दलहरुमा देखिएका यस्ता समस्याले मुलुकको राजनीति स्थिरता र विकासमा सकारात्मक संकेत नगरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।


धेरै पढिएको