राष्ट्रिय परिचय पत्र बनाउन गाउँमै पुग्यो टोली

सुनौलो अनलाइन
२९ साउन २०८२, बुधबार

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको राष्ट्रिय परिचय पत्र बनाउन तामाकोसि गाउँपालिकाका सबै वडामा टोली खटाएको छ।

परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा र अपाङ्गता भएकाहरुको भीड लाग्न थालेपछि प्रशासनले सेवाग्राहीको सहजताका लागि पालिकाको वडाहरुमा परिचय पत्र बनाउने टोली खटाएको हो ।

राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै वडामा नै परिचयपत्र बनाउने टोलि खटाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
गाउँमै परिचयपत्र बन्ने भएपछी जेष्ठ नागरिक तथा अपांग भएका ब्यक्तिहरुले खुसी ब्यक्त गरेका छन।
टोलीले बुधबार तामाकोसी गाउँपालिका ३ जफेका सामाजिक सुरक्षा भत्ता लिने ब्यक्तिको परिचयपत्र बनाउने काम सुरु गरेको छ । यो कार्य गाउँपालिकाको सबै वडामा संचालन गरिने कार्यालयल्र जनाएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले परिचयपत्र बनाउने टोली सात दिनका लागि तामाकोसी गाउँपालिकामा खटाइएको बताउनुभयो ।

पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाका विभिन्न स्थानीय तहका वडाहरुमा राष्ट्रिय परिचय पत्र बनाउने टोलि खटाइएको उहाँले बताउनुभयो ।
प्रजिअ गेलालले भन्नुभयो, राष्ट्रिय परिचयपत्र बनाउन टोलि स्थानीय तहका वडाहरुमा खटाइएको छ,कतिपय स्थानीय तहमा परिचयपत्र बनाउने काम सप्पन्न भइसकेको छ । भदौ मसान्तसम्ममा सबै स्थानिय तहमा परिचय पत्र बनाउने काम सम्पन्न गर्ने योजना रहेको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेको भीड बढेको थियो । परिचयपत्र बनाउन दिनभर लाइन लाग्दासमेत पालो नपाएर फर्कनु परेको सेवाग्राहीको गुनासो थियो ।सोही गुनासोलाई सम्बोधन गर्न वडामा नै टोलि खटाईएको उहाँले बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष सिर्जना सुबेदिले अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले सबै वडामा राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन भईरहेको बताउनुभयो ।।
गाउँमै राष्ट्रिय परिचयपत्र शिविर गरिँदा सामाजिक सुरक्षा बापतको भत्ता तथा अन्य कार्यका लागि सहज हुने उहाँले बताउनुभयो ।