दोलखामा ई-पेन्सन सेवा सुरु: अब पेन्सन पट्टाका लागि काठमाडौँ धाउनु नपर्ने

सुनौलो अनलाइन
१२ चैत २०८२, बिहिवार

दोलखा। निजामती तथा स्वास्थ्य सेवाबाट अवकाश पाउने राष्ट्रसेवक कर्मचारीहरूको सुविधालाई मध्यनजर गर्दै दोलखामा ई-पेन्सन (E-Pension) सेवा कार्यान्वयनमा आएको छ।

राष्ट्रिय किताबखाना (निजामती) ले चैत्र ६ गतेदेखि नै यो प्रणाली सञ्चालनमा ल्याएपछि कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जिल्लास्थित सबै सरकारी कार्यालयहरूलाई यसबारे औपचारिक जानकारी गराएको कोष नियन्त्रक प्रभाष जोशीले बताए ।

जिल्लाबाटै पाइने सुविधाहरू

यसअघि निवृत्तिभरण अधिकार पत्र (पेन्सन पट्टा) बनाउन, औषधि उपचार सुविधा लिन र सञ्चित घर तथा बिरामी बिदाको रकम किटानी गर्न कर्मचारीहरू अनिवार्य रूपमा ललितपुरको हरिहरभवनस्थित किताबखाना धाउनुपर्ने बाध्यता थियो।

नयाँ व्यवस्था लागू भएसँगै अब यी सबै सेवाहरू जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत नै प्राप्त गर्न सकिनेछ। यसले अवकाश प्राप्त कर्मचारीहरूको समय र खर्च दुवै बचत हुने विश्वास लिइएको जोशीले बताए ।

प्रक्रिया र आवश्यक कागजातहरू

यो सेवा प्राप्त गर्नका लागि कर्मचारीहरूले कार्यालय प्रमुखबाट प्रमाणित अनुसूची-१७ (क), अवकाश वा राजीनामा स्वीकृत भएको पत्र र सुरु नियुक्ति पत्रको प्रतिलिपि बुझाउनुपर्ने कार्यालयले जनाएको छ।

त्यसैगरी, अध्ययन बिदा, असाधारण बिदा, विभागीय कारबाहीको अवस्था र औषधि उपचार सम्बन्धी विवरण खुलेको सिफारिस पत्रका साथै बढुवा, स्तरवृद्धि वा समायोजनका पत्रहरू समेत अनिवार्य रूपमा पेश गर्नुपर्ने कार्यालयले जनाएको छ।

सेवाग्राहीको दायरा र सम्पर्क

यो सुविधा दोलखा जिल्लास्थित निजामती र स्वास्थ्य सेवाका कर्मचारीहरूको हकमा मात्र लागू हुनेछ भने सुरक्षा निकाय र शिक्षकहरूको हकमा साबिककै व्यवस्था रहनेछ।

सेवाका बारेमा थप स्पष्ट हुन वा प्रक्रिया बुझ्न चाहने कर्मचारीहरूलाई कोष तथा लेखा नियन्त्रक कार्यालय, दोलखामा सिधै सम्पर्क गर्न अनुरोध गरिएको छ।


धेरै पढिएको