प्रज्ञा-प्रतिष्ठानको ४१ओैँ प्रज्ञासभा, २०८१/०८२ को नीति कार्यक्रम र बजेट पारित

सुनौलो अनलाइन
२५ असार २०८१, आइतबार

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ४१ औँ प्राज्ञसभाबाट २०८१/०८२ को नीति कार्यक्रम र बजेट पारित भएकाे छ । आईतबार सम्पन्न सभाबाट आगामी आर्थिक वर्षका लागि आवश्यक नीति कार्यक्रम तथा बजेट पारित भएकाे हाे ।

सभाकाे समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियो । उहाँले प्राज्ञिक सत्ताले राजनीतिलाई समेत निर्देशित गर्ने भन्दै  प्रज्ञिक क्षेत्रले सम्पूर्ण संस्कृति निर्माण गर्ने सामर्थ्य राख्ने बताृनुभयाे ।  प्रज्ञा-प्रतिष्ठानले सामान्यभन्दा खोजअनुसन्धानमूलक अब्बल कृतिहरू मात्रै प्रकाशन गर्ने उहाँकाे भनाई छ  ।साहित्य जहिल्यै पनि राजनीतिबाट निरपेक्ष होइन, सापेक्ष नै रहने राईले बताउनुभयाे ।

प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले ४१ ओै प्राज्ञसभाको उद्घाटन सत्रमा स्वागत मनतव्य राख्नु भएको थियोे । उहाँले हाम्रा अग्रज विद्वान्हरूको पदचिन्हबाट नै साहित्यकार बनेकाे भन्दै  प्राज्ञसभा पनि त्यसकै उपज भएको बताउनुभयाे । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रज्ञा-प्रतिष्ठान सैद्धान्तिक र व्यवहारिक पक्षका साथ अघि बढ्नुपर्ने बताउँदै एकल भाषिक स्वरूपबाट मुक्त हुँदै बहुभाषिक र विविधतामा पुग्ने जानकारी दिनुभयाे । उहाँले प्राज्ञिक निकायलाई सरकारले प्रयाप्त बजेट दिनुपर्नेमा जोड दिनुभएको थियोे ।

उक्त समुद्घाटन समारोहमा सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ,प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य सचिव ध्रुवचन्द्र गौतम र संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा.सुरेशसरस श्रेष्ठले ४१ओैँ प्राज्ञसभाको उद्घाटन सत्रमा शुभकामना मनतव्य राख्नुभएको थियोे । कार्यक्रमको उद्घोषण नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति राईको अध्यक्षतामा सुरु भएको ४१अौँ प्राज्ञसभाको बैठकसामू सदस्य सचिव डा. सुवेदीले कार्यसूची प्रस्तुत गर्नुभएको थियोे ।

उक्त कार्यसूचीमाथि सम्पूर्ण प्राज्ञसभा सदस्यले आआफ्नो धारणा राख्नुभएको थियोे ।यसपटक वास्तवमै विशद् छलफल भएको थियोे । नेपाल प्रज्ञा-प्रतिष्ठानको चालु आ.व. २०८०/०८१ को आय- व्यय तथा कार्यक्रमहरूमा छलफल प्रज्ञासभामा गरिएको थियो ।बैठकले आगामी आ.व. २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रमहरू पारित गरिएको थियो ।नेपाल सरकारबाट प्राप्त वार्षिक अनुदान र आन्तरिक स्रोत गरी २३ करोड ६४ लाख १० हजारको बजेट सभाले पारित गरेको थियोे ।
प्राज्ञसभाले नेपाल प्रज्ञा-प्रतिष्ठानका आगामी नीति तथा कार्यक्रमहरू निम्नअनुसार पारित गरिएको छ ।

जसअनुसार प्रज्ञा नेपाली बृहत् शब्दकोश परिमार्जन र विस्तार तथा प्रज्ञा नेपाली व्याकरणको लेखन,सङ्घीय गणतन्त्र नेपाललाई समग्रमा चिनाउने गरी नेपाल दिग्दर्शन ग्रन्थ प्रकाशन गर्ने ,नेपालको मौखिक इतिहासको सङ्कलन तथा अभिलेखनको कामको थालनी र निरन्तरता गर्ने , नेपालमा बोलिने विभिन्न मातृ‌भाषाको कोश तथा व्याकरण लेखनको कामलाई निरन्तरता दिने ,प्रदेश तथा पालिकास्तरका प्रतिष्ठान तथा साहित्यिक संस्थाहरूसँगको सहकार्यमा भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धानका साथै गोष्ठी र अन्तरक्रिया सञ्चालन गर्ने , नेपाल प्रज्ञा-प्रतिष्ठानको वार्षिक उत्सव, अन्तर्राष्ट्रिय दर्शन दिवस, अन्तर्राष्ट्रिय मातृ‌भाषा दिवस, अन्तर्राष्ट्रिय अनुवाद दिवस, विश्व कविता दिवस, विभिन्न स्रष्टाको स्मृति दिवस आदिमा साहित्यिक गोष्ठी र अन्तरक्रिया आदि कार्यक्रम गर्ने ,नेपाली भाषाबाट विभिन्न मातृ‌भाषा तथा विदेशी भाषामा, मातृ‌भाषाबाट नेपाली तथा विदेशी भाषामा र विदेशी भाषाबाट नेपाली तथा मातृभाषाहरूमा विभिन्न कृतिहरूको अनुवाद तथा प्रकाशन गर्ने ,नेपाली जनताको सङ्घर्ष, वलिदान र वीरताको गाथा एवम् सौन्दर्यात्मक मूल्यको खोजी र स्थापनाका लागि कार्य गर्ने , नेपाल प्रज्ञा -प्रतिष्ठानले यसअघि प्रकाशित गर्दै आएका विभिन्न जर्नल -पत्रिकाहरू प्रकाशन गर्ने , नेपाल प्रज्ञा-प्रतिष्ठानबाट स्थापित पुरस्कारहरूमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप विस्तार गरी प्रभावकारी बनाउने याेजना छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रकाशनहरू देशका विभिन्न स्थानमा पुर्याउनका लागि पहल गर्ने,नेपाल प्रज्ञा-प्रतिष्ठान पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रूपमा विकास गर्ने ,नेपाल प्रज्ञा-प्रतिष्ठानबाट यसअघि हुँदै आएका र गरिँदै आएका योजना तथा कार्यक्रमलाई थप प्रभावकारितासहित व्यवस्थित बनाउने,साहित्यका कविता,आख्यान ,निबन्ध ,गजल र नाटक आदि विधामा राष्ट्रिय एवम् क्षेत्रीय महोत्सवहरू,भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र समाजशास्त्रका विषयमा कार्यशाला र गोष्ठीहरू सञ्चालन गर्ने लक्ष्यसहित उक्त नीति तथा कार्यक्रम प्रज्ञासभाबाट पारित भएको छ ।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला