पुर्वाधार कार्यालय दोलखामा गत वर्ष भन्दा दोब्बर बजेट

सुनौलो अनलाइन
२८ साउन २०८२, मंगलबार

चरीकोट (दोलखा), साउन २७ गते । पूर्वाधार विकास कार्यालय दोलखाले गत आर्थिक वर्षमा १७ किलोमिटर पक्की सडक निर्माण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय आयोजनामार्फत सडक कालोपत्रे र ढलान भएको जानकारी दिएको छ । गत वर्ष प्रदेश सरकारले ६८ करोड बजेट बिनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा दोब्बर बजेट बिनियोजन गरिएको छ । यो वर्ष १ अरब ४८ करोड बजेट बिनियोजन भएको छ । गत वर्ष भदौमा बाग्मती प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले   स्थापना गरेको सो कार्यालयमा जिल्ला कै अर्थमन्त्री भएपछी दोलखामा दोब्बर बजेट बिनियोजन भएको हो ।

जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत सात किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर सडक ढलान भएको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार १२ किलोमिटर नयाँ सडक निर्माण, तीन किलोमिटर सडक ग्राभेल, ९६ किलोमिटर सडक नियमित मर्मत र दुई वटा सडक पुल निर्माण सम्पन्न गरिएको छ ।

यसै गरी गौरीशङ्कर गाउँपालिकामा २५ मिटर लामो तिनेखु पुल र जिरी नगरपालिका–१ मा २५ मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा आवागमन सहज बनाउन, यात्रा अवधि छोट्याउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको भाडादर घटाउन, दुर्घटना कम गर्न, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि सडक आयोजना प्रभावकारी बनेको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

एक दर्जन सडक निर्माणाधीन    

प्रदेश सरकारको लगानीमा दोलखाका दुई सडक कालोपत्रे हुने भएका छन् । दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने (मुडे–मेलुङ–सितली सडकको भैँसे–बुद्धचोक खण्ड) र तामाकोशी गाउँपालिका–१, भिरकोट हुँदै वैत्यश्वर गाउँपालिका–१, गैरीमुदी हुँदै तामाकोशी गाउँपालिका–३, छौडे पुग्ने सडक कालोपत्रे हुने भएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दोलखामार्फत दुई मुख्य सडक कालोपत्रेका लागि ठेक्का लागिसकेको छ । निर्माण कम्पनीले वर्षालगत्तै काम सुरु गर्ने कार्यालयले जनाएको छ । मुडे–बाघखोर–कालापानी नौ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

दोलखामा कार्यालय स्थापना भएसँगै जिल्लामा ठेक्का लागेर अलपत्र रहेका सडकलाई कार्यालयले पटक पटक ताकिता गरेर निर्माण सुरु गराएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा ग्रामीण क्षेत्रका सडक स्तरोन्नति र ढलान कार्य धमाधम भइरहेको छ ।” कार्यालय जिल्लामा नै स्थापना भएपछि दोलखामा सडक क्षेत्रको विकासले प्राथमिकता पाएको छ । कार्यालयको सक्रियता बढेसँगै लामो समय सडक निर्माण अलपत्र छाडेर बसेका निर्माण व्यवसायी काममा फर्किएका छन् ।


धेरै पढिएको